काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ । एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ५ विकेट गुमाएर १०२ रन मात्र बनाएको छ । यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो । यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । उनले ३७ बलमा एक चौका प्रहार गरिन् ।
पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाएका थिए । पूजाले १४ बलमा २ चौका र इन्दुले १५ बलमा १ चौका प्रहार गरिन् । सम्झना खड्का ७ बलमा २ रन मात्रै जोडेर आउट भएकी थिइन् । रुविना क्षेत्रीले १६ बल खेल्दा ७ रन मात्रै जोडिन् । कविता जोशी १७ र ममता चौधरी ८ रनमा नटआउट भएका थिए ।
नामिबियाका लागि साइमा तुहादेलेनी, मेकेले मवातीले, विल्का मवातिले समान एक विकेट लिँदा एवलिन केजकुवाले २ विकेट हात पारेकी थिइन् । त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिवियाले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको हो । नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन् ।
ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रीन ८ रनमा आउट भएका थिए । मर्सर्ली गोरासेस ४, सिल्विया शिहेपो १ र एडेल वान जिल शून्य रनमा आउट भइन् । मेकेले मवातिले ५ रन र विल्का मवाती २० रनमा आउट भए । अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट भएकी हुन् ।
४ ओभरमा ४० रन खर्चिएकी इश्वरी विष्टले ३ विकेट लिइन् । रचना चौधरीले ४ ओभरमै मात्रै ९ रन खर्चिँदा २ विकेट हात पारिन् । रिया शर्मा र इन्दु बर्माले समान एक विकेट हात पारेका छन् । समान ४ ओभरमा इन्दुले २० रन र रियाले २६ रन दिएकी थिइन् । नेपालले अब जवाफी ब्याटिङ गर्नेछ ।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले युगान्डासँग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ । यसअघि हङकङसँग २ रनले पराजित हुँदा युगान्डालाई १ विकेटले हराएको थियो ।