काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतका अनुसार बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।
आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुनेछ । सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । जनता समाजवादी पार्टी नेपालले मंगलबार संसदीय दल बैठकबाट भूमिबाहेक अन्य अध्यादेश स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ ।
सत्ता पक्षलाई जसपा नेपालको साथबिना राष्ट्रिय सभामा बहुमत पुग्दैन । यी समग्र विषयबारे छलफल गर्न राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो । संयन्त्रमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहेका छन् ।