सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्री भन्छन्– योजना बनाउँदा गरिबी निवारणलाई प्राथमिकता दिऔं

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने उनको भनाई रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा छलफल गरेका छन् । पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भने, ‘हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ, । जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ ।’ उनले भने, मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन पनि सुझाव दिएका छन् । ‘उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ, ।’

राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन-मूल्यांकन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरेका छन् । आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले १६ औं योजनाको कार्यान्वयन, यसका चुनौतीहरू, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका थिए ।

उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तक्र्रिया गरिएको जनाउँदै वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालयलगायत सहभागी भएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार