काठमाडौं । संसद्मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूबीच सवालजवाफ भएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर सवालजवाफ चलेको हो ।
शाहीले आफूसँग बहस गर्ने भए इतिहास पढेर आऊ भनेका नेकपा एमालेका सांसद रघुजी पन्तलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । पन्तले राजाको कालमा हत्याका घटनाहरू भएका थिए भन्नेबारे अभिव्यक्ति दिएपछि शाहले यसको जवाफ दिँदै भने- यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले गर्यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।
उनले पटकपटक सरकारको नेतृत्व गरेको एमालेलाई मदन भण्डारीको हत्याको याद आयो कि आएन भनेर प्रश्न गरेका छन् । ‘हत्याको कुरा गर्नुहुन्छ? राष्ट्रपति तपाईंहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन, ?’ उनले प्रश्न गरे, ‘काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौँ ? बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’
शाहीले सिन्धुपाल्चोक पुगेर शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन् । दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई भाइ मारा, तस्कर र चोर भनेका थिए । शाहीले भने, ‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो, भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?’