काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र छलफल जारी रहेको बताएका छन् ।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बनाउन छलफल सुरु भएको बताएका छन् । उनले भने, ‘समस्या सडकभन्दा सरकारमै छ । अनियमितिता छ । सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ, । गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन । गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ ।’
यो प्रारम्भिक छलफल भएकाले आकार ग्रहण गरिनसकेको उनको भनाइ रहेको छ । उनले नेकपा एमालेसँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग हुने पनि बताएका छन् । माओवादीले केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीकै कारण राजावादीहरू सल्बलाएको बताउँदै आएको छ ।