काठमाडौं । गत बिहीबार रिलिज भएको फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड ७ लाख व्यापार गरेको हो।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए। रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ।
रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रबार पनि चलचित्रलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो। पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरू समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताए।