काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परिक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको बताएका छन् । संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेकोबारे उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानुनी व्यवस्था गरिँदैछ भने त्यो गलत हो । कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत छ, ।’
सांसद ज्वालाले भने, ‘यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरुलाई अझ बढी खाडी र मलेसियारतिर धकेल्नु हो । सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौं, ।’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।