काठमाडौँ । अमेरिकी अन्तरिक्षयात्री बुच विलमोर र सुनी विलियम्स निर्धारित समयभन्दा एक दिन अगाडि मंगलबार राति पृथ्वी फर्कने भएका छन् ।
अन्तरिक्ष स्टेसनमा केही महिना अघिदेखि अड्किएका यी दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउने योजना अन्तर्गत बुधबार उनीहरूलाई फर्काउने योजना थियो । तर, मौसम प्रतिकूल देखिएकाले नासाले मंगलबार नै ‘स्प्ल्यासडाउन’ गर्ने निर्णय गरेको हो ।
बुच र सुनी बोइङको स्टारलाइनर क्याप्सुलमार्फत् ५ जुन २०२४ मा अन्तरिक्ष स्टेसन पुगेका थिए । तर, अन्तरिक्ष स्टेसनमा पुगेपछि यो स्टारलाइनरको थ्रस्टरमा समस्या आएपछि दुवै अन्तरिक्षयात्री स्टेसनमै रोकिएका थिए ।
उनीहरूलाई पृथ्वीमा फर्काउने नयाँ योजना अनुसार ४ जना अन्तरिक्षयात्रीसहित पुगेको स्पेसएक्स ड्रागन अन्तरिक्षयान सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा डक गरिएको थियो ।
त्यहाँ बुच र सुनीले नयाँ अन्तरिक्षयात्रीको स्वागत मनोरञ्जनात्मक ‘एलियन एनकाउन्टर’ शैलीमा गरेका थिए । जसको भिडियो अहिले विश्वभर चर्चामा रहेको छ ।
अन्तरिक्ष स्टेसनमा ४ सदस्य थप पुगेसँगै त्यहाँ रहने सदस्यको संख्या ११ पुगेको छ । नयाँ टोलीको आगमनले अघिल्लो मिसन (क्रु-९) का चार सदस्यलाई अन्तरिक्ष स्टेसनबाट पृथ्वी फिर्ता पठाउन सहज बनाउनेछ । तिनीहरू आगामी सेप्टेम्बरमा जाने अर्को ड्रागन क्याप्सुलमार्फत् पृथ्वीमा फर्कने छन् ।