काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा भीषण आक्रमण गरेको जनाएको छ । हमासलाई लक्षित गर्दै उक्त आक्रमण गरिएको इजरायलले जनाएको हो ।
इजरायलको प्रधानमन्त्री कार्यालयले एक प्रतिक्रिया दिँदै भनेको छ, ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजराइल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमण गर्ने आदेश दिएका हुन् । हमासले इजरायली बन्धकहरू रिहा गर्न इन्कार गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि विट कोफ र अन्य मध्यस्थकर्ताले गरेको प्रस्ताव अस्वीकार गरेपछि आक्रमण गरिएको हो ।’ अलजजिराले प्रकाशित गरेको समाचारमा उक्त आक्रमणमा परी २३२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । उक्त समाचारमा भनिएको छ,।
‘प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गाजामा कम्तीमा २३२ जनाको मृत्यु भएको छ ।’ इजरायल र हमासबीच युद्धविराम भएयता गाजामा इजरायलले गरेको यो सबैभन्दा ठूलो आक्रमण रहेको छ । युद्धविराम अघि बढाउने विषयमा दुई पक्षबीचको वार्तामा रोकावट आएको समयमा इजरायलले आक्रमण गरेको हो । इजरायली आर्मीले गाजामा हमास बसेको ठाउँमा आक्रमण गरिएको भनिएको छ । इजरायली सेनाले एक टेलिग्राम पोस्टमा भनेको छ, ‘गाजापट्टीमा हमास बसेको ठाउँमा ठूलो आक्रमण गरिएको हो ।’
स्थानीय चिकित्सकहरूले भने उक्त आक्रमणमा परी सर्वसाधारण, महिला तथा बालबालिकाको पनि मृत्यु भएको समाचारमा उल्लेख छ । चिकित्सक तथा प्रत्यक्षदर्शीका अनुसार मध्य गाजाको दिर अल बलाहमा तीन घर, गाजा शहरको एक भवन तथा खान युनिसी तथा राफामा आक्रमण भएको हो । आक्रमणपछि हमासले भने इजरायलले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ । साथै, यसले बन्धकहरूको जीवन खतरामा पार्ने चेतावनी दिएको छ ।