सोमवार, आश्विन १९ गते २०८३

पश्चिमाञ्चल क्याम्पस पोखरामा बाहिर अनसन र नाराबाजी

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा अनसन, नाराबाजी र विरोध प्रदर्शनका बीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भइरहेको छ ।

नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ । कडा सुरक्षाका बीच भित्र मतदान भने भइरहेको छ । नेविसंघबाट स्ववियु सचिव पदमा मनोनयन नै नभएपछि आन्तरिक विवादले क्याम्पसमा विरोध प्रदर्शन भइरहेको हो । केन्द्रको आधिकारिक परिपत्रविपरीत नेपाली कांग्रेस कास्की जिल्ला नेतृत्वले सचिव पदमा मनोनयन नै गराउन नदिएको भन्दै एउटा समूहले विरोध गर्दै फेरि मनोनयन गर्न माग गरिरहेका छन् । तर, जिल्ला नेतृत्वले सचिव उम्मेदवारविनै चुनावमा जान निर्वाचन समितिलाई सहमति दिएपछि अहिले विरोध र नाराबाजीका बीच मतदान भइरहेको छ ।

नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाएको छ । नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार प्रशान्त उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाट परिपत्र भए पनि कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले सचिवबिनै निर्वाचनमा जाने वातावरण बनाएको भन्दै नेतृत्वप्रति नेविसंघका नेताहरु रुष्ट छन् । त्यसैको विरोधमा एउटा समूहले सोमबार टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने अहिलेसम्म पनि रिले अनसन जारी राखेको छ ।

क्याम्पस गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाहिर विद्यार्थीहरुलाई मतदान गर्न जानबाटसमेत रोक्ने प्रयास भइरहेको छ । क्याम्पसभित्र होस्टेलमा बस्ने विद्यार्थीहरुबाट सुरुमा स्ववियुको मतदान सुरु भएको हो । केन्द्रको परिपत्र हुँदाहुँदै सचिवबिनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरुको आरोप छ । नेविसंघका विद्यार्थीले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन् ।

२०७९ को चुनावमा नेपाल विद्यार्थी संघकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो । यसपटक चुनाव गराउने सर्वदलीय सहमति भएको थियो तर सबैलाई मत खसाल्ने वातावरण भने बन्न नसकेको विद्यार्थीहरुले गुनासो गरिरहेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार