काठमाडौं । चीनको छेन्दुबाट आएको सिचुवान एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरको जहाज अवतरण गरेको हो । यो जहाजले आज पोखराबाट छेन्दुका लागि पहिलोपटक व्यवसायिक चाटर्ड उडान गर्दैछ । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक ‘चार्टर्ड’ उडान गर्न लागिएको हो ।
लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् । उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीनवटा चार्टर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिएका छन् ।
चार्टर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । चीनस्थित चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ ।