सोमवार, आश्विन १९ गते २०८३

गणतन्त्र स्थापनामा ज्ञानेन्द्र शाहले भिलेन बनेर सहयोग गरे : पुष्पकमल दाहाल प्रचण्ड

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह गणतन्त्र स्थापनाका ‘भिलेन’ भएको टिप्पणी गरेका छन् । उनले शाहको ‘मूर्खता’ नै गणतन्त्रका लागि सहयोगी बनेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले तत्कालीन राजा शाहले सात राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र केही वर्ष टिक्न सक्ने बताएका छन् । उनले ज्ञानेन्द्र शाहले ‘भिलेन’ को रूपमा भूमिका खेलेर गणतन्त्र स्थापनाको आधार तयार पारेका थिए ।

उनले भने, ‘गणतन्त्र स्थापनाको आधार हामीले तयार पार्यौं, तर ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि मद्दत गरेकै हुन् । ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो । सात दलमाथि दमन नगरेको भए, नेताहरूलाई लात्ताले नहानेको भए, अझै राजतन्त्र बाँकी रहन सक्थ्यो ।’ उनले अहिले पनि राजतन्त्र पुनःस्थापनाका प्रयासहरू भइरहे पनि त्यो सफल नहुने दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेन सक्रिय भएन भने हिरो राम्रोसँग अघि बढ्न सक्दैन । गणतन्त्र स्थापनामा ज्ञानेन्द्र शाहको भिलेनको भूमिका महत्वपूर्ण रहेको थियो, ।’ उनले संविधान तत्काल संशोधन गर्नुभन्दा पहिले समीक्षात्मक बहस आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘अब संविधानबारे समीक्षा बहस थालौं । सबै राजनीतिक दल, शक्ति र सरोकारवाला पक्षहरू बसेर बहस गरौं । संविधान सभाबाट संविधान घोषणा गर्ने ७० वर्ष पुरानो एजेन्डा स्थापित गर्न भूमिका खेलेका सबै शक्तिहरू एक ठाउँमा आएपछि मात्र संशोधनले सही आकार लिन सक्छ, ।’

कार्यक्रममा अध्यक्ष दाहालले उत्पीडित वर्ग तथा समुदायमा चेतना विस्तार भइरहेको पनि उल्लेख गरेका छन् । उनले समाजवादी क्रान्तिको यात्रालाई अगाडि बढाउन नयाँ संकल्पको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार