काठमाडौं । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा निधिले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले बेहोरिसकेको बताएका छन् । राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ रहेको छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको टिप्पणी गरेका छन् । उनले भने,‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ, ।’
निधिले भने, ‘पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरोका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरोका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरोका छौँ । राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ ।’ विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरेका छन् ।
उनले भने, ‘राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन, त्यो अवस्था छैन । जनताले कुनैपनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौं, ।’