सोमवार, आश्विन १९ गते २०८३

आज राति १२ बजे कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोसी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिएका छन् । उनले भने, बैठकले कोसी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गरेको छ । त्यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय भएको छ ।

यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृति प्रदान गर्ने निर्णय कोसी सरकारले गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको बताए ।

मन्त्री भण्डारीले आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाड गर्न स्वीकृत प्रदान गरेको जानकारी दिएका छन् । उनले राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले  स्वीकृत गरेको बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार