काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले बाबुरामले सकेनन् भनेर चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको जानकारी गराएका छन् । आज सुनसरीको झुम्कामा नयाँ शक्तिको प्रदेशस्तरीय प्रथम महाधिवेशन उद्घाटन गर्दै भट्टराईले बाबुरामले सकेनन् भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको टिप्पणी गरेका छन् ।
उनले सबैलाई मिलेर वैकल्पिक शक्ति निर्माण गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘बाबुरामले सकेनन् भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता हो । आउनुहोस्, मिलेर जाऔँ, वैकल्पिक शक्ति निर्माण गरौँ । तपाईँ चुप लागेर होइन, हातमा हात जोडेर अगाडि बढे मात्र यसको निकास मिल्नेछ।’ उनले आफ्नो पार्टीको जस्तो दस्ताबेज अन्य कुनै पार्टीको नभएको पनि जनाएका छन् । नयाँ शक्ति कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने नभई सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र रहेको उनले दाबी गरेका छन् ।
अध्यक्ष भट्टराईले भने, ‘हाम्रो जस्तो दस्ताबेज कुनै पनि पार्टीको छैन । अरू पार्टीहरू कुनै न कुनै रूपमा एउटा निश्चित समुदाय, लिङ्ग, वा वर्गसँग मात्र सम्बन्धित देखिन्छन् । तर हाम्रो पार्टी कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने होइन । यो सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र हो, जहाँ सबैको समान सहभागिता हुन्छ । हाम्रो पार्टी कुनै निहित स्वार्थ राखेर बनेको होइन, बरु समावेशिता, समानता, र न्यायलाई आधार बनाएर तयार पारिएको साझा फूलबारी हो, जहाँ सबै वर्गका नागरिकले आफूलाई समान रूपमा प्रतिनिधित्व भएको महसुस गर्न सक्छन् ।’