काठमाडौँ । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो ।
अभियानअन्तर्गत, एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने जानकारी दिएको छ । चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिने एमालेले जनाएको छ ।
यस्ता छन् एमालेले घोषणा गरेका कार्यक्रम :
–प्रतिगामी कुप्रयासका विरुद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।
–संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।
–चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा बृहत् मोटरसाइकल र्याली गर्ने ।
–चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने ।