काठमाडौँ । हातमा कलम, गोजीमा मोबाइल अनि चिटिक्क परेर परिक्षा हलमा प्रवेश गर्छन अहिलेका विद्यार्थीहरु । शिक्षकले प्रश्नपत्र दिनासाथ गोजीबाट हतार हतारमा मोबाइल निकालेर फोटो खिच्छन्।
र, साथीलाई मेसेन्जरमा यी प्रश्नको उत्तर पठाउनु है भनेर सेन्ड गर्छन । हुन त यो योजना विद्यार्थीहरुले पहिला नै बनाइसकेका हुन्छन् । तर, साथीले पनि विश्वास तोड्दै प्रश्नपत्र सामाजिक सञ्जालमा पोष्ट गर्छ । अनि के थियो र एक सेकेन्डमै भाइरल । यसवर्षको एसईई परिक्षामा पनि यस्तै भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन (बिहीबार) धनुषा, सिरहा र जाजरकोटमा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको केहीबेरमै जनकपुरधामको एक परीक्षा केन्द्रबाट फेसबुकमार्फत प्रश्नपत्र आउट भएको हो ।
त्यस्तै महोत्तरीको औरह गाउँपालिका २ स्थित श्री प्रसाद सिंह माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बाहिरबाट चिट चोरी गराइरहेको भिडियो बाहिरिएको छ । यस्तै रौतहटको मौलापुर नगरपालिका ६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा बाहिरबाट परीक्षार्थीलाई चिट दिइरहेको भिडियो भाइरल छ ।
विगतमा पनि यस्ता गतिविधि हुने गर्थे । यसपटक पनि त्यही रोग देखिँएको छ । पछिल्लो समय विद्यार्थीहरुलाई सामाजिक सञ्जाल र मोबाइलले गलत बाटोमा हिड्न सिकाइरहेको छ ।