काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालयमा तानेर उनको स्थानमा विश्वप्रकाश अर्याललाई पठाएको छ । अर्याल यसअघि कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले हिजो नै प्रहरीलाई निर्देशन दिइसकेका थिए । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दीपक मलिक डोमको घर डोजर चलाएर भत्काएको विषय बाहिरिएपछि गृहले प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय फिर्ता बोलाएको हो ।
हिजो डोमको घर भत्काएर उठीबास लगाएको विषयमा प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले बैठकमा महायज्ञका नाममा डोमको घर भत्काएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने माग गरेका थिए । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गर्न माग गरेका छन् । दलित भएकै कारण घरमा डोजर लगाएर विस्थापित गर्ने जस्तो कार्यमा संलग्न भएको भन्दै यादवमाथि कारबाहीको माग गरेका हुन् ।
सांसद तुलप्रसाद विश्वकर्माले भने, ‘गाउँपालिकाका अध्यक्ष सहितका दोषीलाई नियन्त्रणमा लिएर कारबाही गरियोस् । पीडितलाई क्षतिपूर्ति दिइयोस् ।’ सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई लगायतले पनि औरही ५ को घटनाप्रति सरकारलाई ध्यानाकर्षण गराएका छन् । उक्त घटनाको विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।