सोमवार, आश्विन १९ गते २०८३

पुष्पकमल दाहाल प्रचण्ड भन्छन्– म २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई-मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखेका हुन् । उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो ।’ उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको बताएका छन् । यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगन्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको दाबी गरेका छन् । संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखेका छन् ।

त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई-मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिएका छन् । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले आफ्ना समस्या र सुझाव राखेका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

त्यसअघि आज बिहान अध्यक्ष प्रचण्डले वीरगन्जका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार