सोमवार, आश्विन १९ गते २०८३

सरकार र व्यवस्था परिवर्तन गर्ने आशय भारतको छैन : परराष्ट्रमन्त्री

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् ।

छिमेकी राष्ट्र भारतको भ्रमण सकेर आज मात्र नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् । उनले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको बताइन् ।

राणाले भनिन्, ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ, । अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ ।’

उनले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको बताएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने आफूले भेटका लागि प्रस्ताव नै नगरेको उनको भनाइ रहेको छ ।

राणाले भनिन्, ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो । र मैले भेटेको पनि हुँ । मोदीजीसँग भेट मागिएको पनि होइन । भेट पनि भएन, ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार