काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले वर्तमान सरकारका मन्त्रीहरूको मनपरी र प्रधानमन्त्रीको मौनतामाथि कडा प्रश्न गरेका छन् ।
मातृभूमि जागरण अभियान, नेपालमार्फत राजनीतिमा सक्रिय रावलले सामाजिक सञ्जालमा लेख्दै सरकारप्रति आक्रोश पोखेका छन् । नाफाखोरी रोक्ने कानून हटाएर उद्योगमन्त्री दामोदर भण्डारीमार्फत उनले सिमेन्ट र डन्डीको मूल्य कृत्रिम रूपमा बढाएको आरोप लगाएका छन् । उनले स्वदेशी सुपारी उत्पादकलाई प्रोत्साहन गर्नुको साटो आयात खुला गरिएको र ग्यास उद्योगीको कमिसन घटाउने सुझावविपरीत प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइएको उल्लेख गरेका छन् ।
नेता रावलले उर्जामन्त्री दीपक खड्कामाथि लैनचौरस्थित स्काउटको जग्गा सस्तोमा भाडामा लिएर थप नौ रोपनी कब्जा गरेको र पाँच करोडभन्दा बढी भाडा नतिरेको आरोप लगाएका छन् । जनगुनासो चर्किंदासमेत प्रधानमन्त्रीको मौनता रहस्यमय भएको उनको भनाइ रहेको छ । उनले परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको राइसिना डाइलगमा दुई हप्ता बिताएर पनि भारतीय प्रधानमन्त्रीसँग भेट्न नपाएको कुरा पनि उल्लेख गरेका छन् ।
नेपालको राजनीतिबारे छलफल गरेको भन्ने कुरालाई उनले ‘स्वाधीन देशको कूटनीतिक असक्षमता’ भनेका छन् । परराष्ट्र मन्त्री राणाले भारतबाट फर्किएपछि भारत सरकार नेपालमा सत्ता परिवर्तनको पक्षको नभएको आशयसहितको बयान दिएकी थिइन् । नेता रावलले गठबन्धन सरकारले ऋण लिन सक्ने अवस्था छैन भने पनि आठ महिनामा ३ खर्ब ३४ अर्ब ऋण लिएको भन्दै यो मनपरी र पाखण्ड हो कि के हो ? भन्दै जवाफ मागेका छन् ।