काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
आज काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताएका छन् । ‘नेपालमा धेरैजसो जलविद्युत् परियोजनाहरू, सिंचाई आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको स्रोत मुख्य आधार हिमनदीहरू हुन् । यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका साथै हिमनदीहरुको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढिकरण र जोखिम न्युनीकरणका उपायहरू अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ,’ ऊर्जामन्त्री खड्काले भने ।
अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्युनीकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउनसक्ने बताएका छन् । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको जनाएका छन् । उनले भने, ‘नेपालका हिमनदीहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरू पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरू उच्च छन्, ।’ ‘हाम्रा हिमनदीहरू क्रमशः साना हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत् आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ ।’
सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउँदै मन्त्री खड्काले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताएका छन् । जलवायु परिवर्तनका जोखिमहरू ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी सुरु गरेनौँ भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउनसक्छ, ।’
मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलचक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।