सोमवार, आश्विन १९ गते २०८३

विवाहको उमेर घटाउने कि रोमियो जूलियट मोडलमा जाने : गृहमन्त्री रमेश लेखक

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । आज प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

गृहमन्त्री लेखकले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको पनि जनाएका छन् । ‘विवाहको उमेरको विषयमा अत्यन्तै गम्भीर तरिकाले सोच्न आवश्यक छ । हामीले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्नेबारे सोच्नुपर्छ, ।’ उनले भने, ‘संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्‌मा विचाराधीन छ । संशोधन विधेयक तयार छ । त्यस विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामी छलफल गरिरहेका छौं ।’ जसका लागि दुईवटा उपायहरू रहेका छन् ।

गृहमन्त्री लेखकले भने, ‘एउटा, विवाहको उमेर घटाउने । दोस्रो, रोमियो जूलियट मोडलमा जाने । विवाहको उमेर घटाएर १८ मा लैजाऔं भन्ने छ । अन्तर्राष्ट्रिय अभ्यास चाहिँ रोमियो जूलियट ल प्रयोग गर्ने कि भन्ने छ, ।’ रोमियो जुलियट मोडलबारे जानकारी गराउँदै उनले भने, ‘रोमियो जुलियट लले के भन्छ भने, १८ वर्ष विवाहको उमेर तोक्यो मानौं । १६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन भन्ने कन्सेप्ट रहेका छन् ।’ त्यसका लागि केही अन्तर्राष्ट्रिय शर्त रहेको भन्दै त्यसमा पनि सजक हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘त्यसका केही शर्त छन् । अन्तर्राष्ट्रिय कन्सेप्टमा पनि मानौं, ।’ अहिले तत्काललाई उमेर घटाएर अघि बढ्ना पनि विषयवस्तुको समाधान हुनसक्ने उनको भनाइ रहेको छ । यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार