काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै यसको विकल्प सोच्न नसकिने बताएका छन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान व्यवस्थामा हरेक नागरिक मालिक हुन पाउने भन्दै यसको सदृढीकरणमा सबैले जोड दिनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले भने, ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’ शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको उनको भनाइ रहेको छ ।
उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् । उनले भने, ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौ । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो ।’
राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दे यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरेका छन् । उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रूझ्दै र भिज्दै पुगेको बताएका छन् । टिम्बुरबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अबरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाहरुको हत्या गरेको स्थान हो ।