काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर ओलीले गलत कदम चालेका हुन् ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउनु पर्ने आवश्यक अहिले थिएन । एकतर्फ देशभर राजतन्त्रको माहोल बनिरहेको छ, भने अर्कोतर्फ कुलमानको लोकप्रियता निकै छ । पछिल्लो समय पुराना दल नेपाली काँग्रेस र एमालेप्रति जनताहरू रुष्ट बनेका छन् ।
ओली सरकारविरुद्ध नारा लाग्ने क्रम जारी नै छ । यस्तो अवस्थामा ओलीले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बाइपास गरेर ठुलो गल्ती गरेका हुन् । ओलीको त्यो उल्टो बुद्धि एमालेलाई भने भारी पर्ने देखिएको छ । काँग्रेस सरकारबाट बाहिरिएको एक सेकेन्डमै सरकार ढल्ने पक्का नै हो । कुलमानलाई प्रधानमन्त्री ओलीले हटाएपछि कांग्रेसभित्रको एक तप्का निकै असन्तुष्ट बनेको छ ।
त्यस तप्कामा कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र गृहमन्त्री रमेश लेखकसमेत छन् । यी नेताहरुले ओलीका कारण पार्टीको जनमत घट्न सक्ने र ०८४ मा ठुलो धक्का लाग्ने निष्कर्ष निकालेका छन् । त्यहीभएर सभापति शेरबहादुर देउवालाई ओली सरकारबाट कांग्रेसले बाहिरिनु पर्ने दवाव दिइरहेका छन् । खैर, सरकार ढल्ने नढल्ने कांग्रेसको हातमा छ । तर, प्रधानमन्त्री ओलीको यस निर्णयले एमालेको जनमत घट्ने निश्चित नै हो । ०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धन विरुद्ध एमाले एक्लैले चुनाव लडेको थियो ।
एक्लै चुनाव लडेपनि एमाले संसदको दोस्रो ठुलो दल बन्न सफल भयो । त्यस बेला नेतृत्व गरिरहेका दल कांग्रेस माओवादीप्रति जनता रुष्ट थिए । जसको फाइदा एमालेले निर्वाचनमा लियो र दोस्रो ठुलो दल बन्न सफल भयो । हो त्यसरी नै अहिले सरकारको नेतृत्व गरिरहेका कांग्रेस र एमालेप्रति जनता निकै असन्तुष्ट बनेका छन् ।
देशलाई विकासको गतिमा अगाडि लैजान दुई फरक विचार धाराका दल मिलेको भन्दै कांग्रेस-एमालेका नेताले सरकार बनाउदा जनताको मन जितेका थिए । तर, दुई तिहाइको सरकारले जनताको मन जित्ने गरि काम गर्नुको सट्टा विवादै विवादमा अल्झिरहेको छ । र, झनै त्यसमा कुलमानलाई हटाएर जनतालाई रुष्ट बनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले घिसिङलाई हटाएको हो । आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाउनु कुनै आवश्यक थिएन । तर, ओली सरकारले घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्य ओलीका नजिकका मान्छे हुन् । आफ्नो मान्छे पदमा ल्याउनको लागि घिसिङलाई हटाएर ओलीले गलत कदम चालेका छन् । त्यसकारण ओलीको त्यो कदम एमालेका लागि भारी पर्न सक्छ ।