काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गर्दै संसदमा विरोध गर्ने निर्णय गरेको थियो । सभामुख घिमिरेले सदन सुरु गर्दावित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले पटक-पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।