काठमाडौँ । सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कुलमानलाई हटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निकै आलोचना पनि भइरहेको छ ।
तर, कुलमानलाई हटाउनुमा ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री ओलीको जे जति भूमिका छ त्यतै नै भूमिका परराष्ट्रमन्त्री आरजू राणा देउवाको पनि छ । आरजू परराष्ट्रमन्त्री पनि होइनन् । कांग्रेस सभापति तथा पाँच पटक प्रधानमन्त्री बनेका र छैटौँ पटक प्रधानमन्त्री बन्ने लाइनमा बसेका शेरबहादुर देउवाकी पत्नी हुन् आरजू ।
कांग्रेसभित्र अरु कसैको केही चल्दैन, चल्ने भनेकै आरजूको हो । देउवा पनि आरजूले जे भन्यो त्यही मान्छन् । र, प्रधानमन्त्री ओली पनि कांग्रेसकी शक्तिशाली नेतृ भएकाले अन्य मन्त्री भन्दा पनि आरजूले भनेको बढी सुन्ने गर्छन् । किनकी आरजूले तलमाथि गरेपछि मात्र आफू नेतृत्वको सरकार ढल्ने ओलीको आँकलन छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने विषयमा पनि ओलीले आरजूको भनेको सुने । मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दिपक खड्काले कुलमानलाई बर्खास्त गर्ने प्रस्ताव गर्ने बित्तिकै गृहमन्त्री रमेश लेखकले आपत्ति जनाउँदै निर्णय गर्न नहुने भनेर प्रधानमन्त्रीलाई सचेत गराए । ‘अहिले कुलमानलाई हटाउने समय होइन, अहिले हटाए पनि उनलाई अदालतले फर्काइहाल्छ, त्यसैले निर्णय नगरौँ,’ लेखकले भने। लेखकले कुलमानलाई हटाउनु नपर्ने भनेपछि मन्त्री खड्का आक्रोशित बने ।
परिस्थिति असहज भएपछि प्रधानमन्त्री ओलीले कसो गर्ने हो ? भन्दै लेखकलाई नै सोधे । ओलीले लेखकसँग ‘कसो गर्ने हो?’ भनेर सोधे पनि लेखकले जवाफ दिन पाएनन्। लेखक नबोल्दै परराष्ट्रमन्त्री आरजूले घिसिङलाई हटाउनुपर्ने राय पेस गरिन्।
आरजुले भनिन्, ‘विभागीय मन्त्रीले भनेपछि अरू कुरा सुनेर केही हुँदैन। हटाउने भनेपछि हटाउने। ’ आरजुले हटाउने राय दिएपछि ओलीले पनि हुन्छ भन्दै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बाइपास गरेका थिए ।