काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।
राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए ।
प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गर्ने गन नै प्रदर्शनकारीले खोसेर भागेका छन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।
प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको थियो । आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका हुन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।