काठमाडौं । काठमाडौंको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको हो ।
अहिले राजावादीको प्रदर्शनसभा स्थल तीनकुने मैदानमा खाली गराइएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेका हुन् । त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए ।