काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकामा गणतन्त्रवादी र राजावादीहरुले आ-आफ्नो शक्ति देखाए । प्रशासनले राजावादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको थियो । उता, समाजवादी मोर्चाको कार्यक्रम भृकुटीमण्डपमा तय भएको थियो ।
गणतन्त्रवादीको आन्दोलन शान्तिपूर्ण तरिकाले समापन भएको छ । गणतन्त्र पक्षधरको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले सम्बोधन गरेका थिए ।
यता राजावादीहरुको आन्दोलनले भने उग्ररुप लियो । अराजक शैलीका मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजावादी आन्दोलनका मुख्य कमाण्डर हुन् । उनकै कारणले राजावादीको आन्दोलनले उग्ररुप लिएको देखिन्छ । काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै राजावादी प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरे ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेन । बरु प्रदर्शनकारीहरू थप अराजक बन्दै व्यक्तिका घर, सरकारी तथा निजी घर गाडी, प्रहरी विट, पार्टी कार्यालय निशानामा परे । राजावादीहरूले कान्तिपुर टिभीको भवन, अन्नपूर्ण पोस्टको कार्यालय भवन, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयसहित
कोटेश्वस्थित प्रहरी विट लगायतका संरचना तोडफोड गर्नुका साथै कतिपयमा आगजनीको प्रयास समेत गरेका छन् । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालय समेत राजावादीहरूले जलाएका छन् ।
प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुनेमा गर्ने भनिएको सभा छाडेर हिँडेका थिए । प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । भने, एक महिला प्रहरीको टाउको फुटेको छ । प्रहरीले गोली चलाउदाँ दुईँ जना घाइते समेत भएका थिए ।
घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएका कीर्तिपुर बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । त्यस्तै राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको भवनमा जिउँदै जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको ज्यान गएको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ ।
उक्त भवनको छतबाट उनी भिडियो खिचिरहेका थिए । आन्दोलनकारीले भवनमा आगो लगाएपछि उनले भाग्ने प्रयास गरे । तर, आगो दन्कीएपछि पत्रकार सुरेश भाग्न सफल भएनन् । र, जिउदैँ जलेर ज्यान गुमाउनु पर्यो । राजावादी उग्र बन्नुमा भने दुर्गाको हात देखिन्छ । राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए ।
‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोमा देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।
निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ । त्यसपछि अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भएको हो ।
आफ्नो व्यवसाय सञ्चालन गर्न लिएको ऋण तिर्न बैंकले ताकेता गरेपछि एकाएक भड्किएका प्रसाईं यसभन्दा अघि मारवाडी समुदायलाई बदनाम गराएर आफ्नो भित्री अभिष्ट पुरा गर्ने दाउमा थिए । त्यो प्रयास असफल भएपछि उनी राजावादी बनेका हुन् । राजावादी हुनुभन्दा अगाडि दुर्गा एमालेमा थिए । एमाले छोडेपछि भने उनी अराजक बन्दै गएका छन् ।