आइतवार, श्रावण २४ गते २०८३

पूर्वराजा शाहलाई पनि पक्राउ गर्ने सरकारको तयारी, दुर्गा फरार

शनिवार , चैत्र १५, २०८१

काठमाडौँ । सरकारले पूर्व राजा ज्ञानेन्द्र शाह र दुर्गा पसाईँलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।  सरकारले काठमाडौैको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्वराजा शाह र दुर्गा पसाईँलाई जिम्मेवार ठहर गरेको छ ।

जसअनुसार सरकारले अपराधिक घटनामा संलग्न रहेको निष्कर्ष निकाल्दै यी दुबै जनालाई पक्राउ गर्ने भएको हो । दुर्गालाई तत्काल पक्राउ गर्ने र पूर्वराजा शाहलाई सबै राजनीतिक दलसँग छलफल गरेर पक्राउ गर्ने सरकारको तयारी हो । दुर्गा यतिबेला फरार भएका छन् । उनलाई खोज्न प्रहरी परिचालन गरिएको छ । 

तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको हो ।

आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै भएको सरकारको निष्कर्ष छ । 

व्यक्तिगत सम्पत्तिको आगजनी,लुटपाट,प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाहभएको एक मन्त्रीले बताएका छन् । त्यस्तै गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको बताएका छन् ।  

उनले भने, ‘शान्तिपूर्ण भनेको प्रदर्शन यही हो रु अराजक भीड देखाएर व्यक्तिको सम्पत्ति तोडफोड गर्न र जलाउन पाइँदैन, जसले प्रदर्शन गर्न निर्देशन दियो, उनीहरू नै दोषी हुन्, कारबाहीको दायरामा ल्याइन्छ ।’ प्रसाईंले शुक्रबार शाहलाई भेटेर आन्दोलनको ब्रिफिङ गरेका थिए । उनी घरबाट बाहिर निस्किने बेलामा शाहको फोटो लिएर गाडी अगाडि बढाउँदै भीडलाई उत्तेजित तुल्याएका थिए । गृहमन्त्री लेखकले निजी सम्पत्ति तोडफोड गर्ने र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने र आन्दोलन गर्न निर्देशन दिने नाइकेलाई पनि कारबाही गर्ने बताए ।

प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी,लुटपाट,तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर आजको घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ ।

राजावादी प्रदर्शनकारीले सो क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ । दुर्गा प्रसाई र उनको जमातले तीनकुने क्षेत्रमा अराजकता मच्चाएको प्रारम्भिक रिपोर्ट छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार