काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले मेयर बालेन शाहमाथि विभिन्न आरोप लगाएका छन् । कर्मचारी संगठनले बालेनको अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका हुन् ।
आइतवार चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् ।
प्रशासकीय अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए । उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् ।