आइतवार, श्रावण २४ गते २०८३

सत्ता पक्षको घेराबन्दीमा राप्रपाका नेताहरु, संसदमा राजावादी भन्नेलाई जेल हाल्नुपर्ने भन्दै दम्भ देखाउँछन् !

आइतवार , चैत्र १६, २०८१

काठमाडौँ । गत शुक्रबार राजावादी समूहले संसद् भवन प्रवेश गर्न खोज्दा भाँडिएको आन्दोलनले उग्र रुप लिँदा दुई जनाको ज्यान गएको छ भने कयौं घाइते भएका थिए । भौतिक क्षतिको विवरण अझै संकलन हुँदैछ ।

यसैबीच आज आइतबार संसद बैठक बस्यो । विपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई अपमानित तरिकाले हटाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्छ भन्दै संसदमा आवाज उठाइरहेका थिए ।

तर, सत्ता पक्षका सांसदहरु भने राजावादीमाथि बोल्न  थाले । जसअनुसार संसद बैठकमा सत्तापक्षका सांसदहरूले ‘राजावादी भन्ने हरूलाई कारबाही हुनुपर्छ जेल हाल्नुपर्छ, को हो राजावादी ? निषेध गर्नुपर्छ’ लगायतका शब्द प्रयोग गरे । त्यसपछि भने राप्रपाका सांसदहरु आक्रोशित बने । अनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले छाती ठोकेर भने, ‘राजावादी यहाँ छ सके जेल हाल’

राजेन्द्र लिङदेनले छाति ठोकेर बोलेपछि सत्ता पक्षका सांसदहरु झन राप्रपाका नेताहरुमाथि खनिए । सत्ता पक्षसँग राप्रपाको आरोप-प्रत्यारोप चलेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसदमा राजावादी भन्नेहरुलाई जेल हाल्नुपर्ने भन्दै सत्ता पक्षका सांसदले दम्भ देखाउने गरेको भन्दै राप्रपाका नेताहरुले गुनासो गरेका छन् ।  शुक्रबारको घटनाले गर्दा सत्ता पक्षको घेराबन्दीमा राप्रपाका नेताहरु परेका छन् । राप्रपाका ८७ वर्षीय बयोवृद्ध नेता नवराज सुवेदी आफ्नै घरभित्र नजरबन्द छन् । जीवनको उत्तरार्द्धमा राजा फर्काउन कस्सिएका उनले फरक परिस्थितिको सामना गर्नुपरेको छ ।

उनको गुह्येश्वरी घरको बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । घरको छेउछाउमा हिँडडुल गर्न कडाइ गरिएको छ भने फोटो खिच्न रोक लगाइएको छ । त्यस्तै रवीन्द्र मिश्र र महामन्त्री डा धवलशम्शेर राणा पक्राउ परेका छन् । भने उता निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उच्च निगरानीमा छन् । शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ। शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो। 

त्यहाँ खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। सरकारले शुक्रबारको घटनामा शाहलाई समेत पक्राउ गर्ने योजना बनाइरहेको छ । राजतन्त्र पक्षधरहरुले आफूले शान्तीपूर्ण आन्दोलन गर्न खोजेको तर, सरकारले आन्दोलन विथोल्न आफूमाथि प्रहार गरेकाले शुक्रबारको घटना भएको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार