आइतवार, श्रावण २४ गते २०८३

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु भयो, हिमालय एयरलाइन्सको जहाज अवतरण

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी आजबाट पहिलो व्यावसायिक उडान सुरु गरेको हो ।

पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज आज दिउँसो १ : ५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी बनेको छ । यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् ।

उक्त जहाजमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरेका छन् । यो जहाज आज पोखरामै बसेर भोलि बिहान पुनः ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा-ल्हासा रुटमा साताको एक नियमित उडान गर्ने गरी उडान थालेको छ ।

यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ रहेको छ । पोखरामा यसअघि चार्टर र नियमित चार्टर उडान भइरहेका थिए । नियमित उडान सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार