काठमाडौं । फिल्म ‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा देखिएका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ ।
फिल्ममा महेश त्रिपाठी र रेनु योगीको छोराको भूमिका निर्वाह गरेका जाजरकोटका १५ वर्षीय विकास वास्तविक जीवनमै कुपोषित थिए । त्यही कारण मंगलबार (चैत १९ गते) उनको मृत्यु भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । बालकलाकार विकासको निधनले फिल्म टिम निकै दुःखी भएको छ । विकासलाई बचाउन फिल्म छायांकन र त्यसपछि पनि सक्दो प्रयास गरिएको थियो । उपचारका लागि उनलाई काठमाडौंसम्म ल्याइएको थियो ।
तर, जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै अस्पतालले फिर्ता गरेको थियो । आफूहरूले स्थानीय सरकार र परिवारसँग अनुमति लिएरै विकासलाई फिल्ममा खेलाएको निर्माण टिमको भनाइ रहेको छ । विकासको निधन भएपछि फिल्म निर्माता तथा कलाकार अर्जुन घिमिरेले पोषणप्रति सरकारलाई ध्यानाकर्षण गराउन विज्ञप्तिसमेत निकालेका छन् । जसलाई कलाकारसहित निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । नेपालबाट कुपोषण हटाउन कला क्षेत्रबाट आफूहरूले कोसिस गर्ने अठोट निर्माण टिमले गरेको छ।
‘बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो । यसमा पनि पोषिलो खानेकुरा र सूक्ष्म पोषक तत्त्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नुपर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो । यसप्रकारको खबर कहिल्यै कसैले लेख्न नपरोस् । कसैलाई सुनाउनु नपरोस्’, विज्ञप्तिमा लेखिएको छ ।
चर्चित टेलिशृंखला सक्किगोनी टिमले बनाएको फिल्ममा सीताराम कट्टेल धुर्मुस मुख्य भूमिकामा रहेका छन् । विकास २०६६ साउन १ गते जाजरकोटमा जन्मिएका थिए ।