मंगलवार, आश्विन १३ गते २०८३

नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री ओली

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल र थाइल्याण्डकबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरुबीच छलफल भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु, ।’ ‘नेपाल र थाइल्याण्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तरराष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।’

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै छिट्टै नेपालको भ्रमण हुने विश्वास व्यक्त गरेका छन् । थाइल्याण्डको औपचारिक पहिलो भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली मङ्गलबार बैङ्कक आइपुग्नेका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार