काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीचको विवाद उत्कर्षमा पुगेको छ । मेयर बालेन शाहको असन्तुष्टिका बीच उपमेयर डंगोलले बिहीबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई महानगरपालिकाको कार्यालयमा ल्याएर हाजिर गराएकी छन् ।
गुरागाईंले वडा नम्बर २८ स्थित काठमाडौँ टावर परियोजनाको नक्सा पास गर्दा अनियमितता गरेको मेयर बालेनको आरोप छ । तर छानबिनबाट दोषी नदेखिएको तथा कुनै कारवाही नभएको भन्दै उनीबाट नै कामकाज गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन थियो ।
मेयर बालेनले गुरागाईंलाई सरुवा गरी अर्को प्रमुख कार्यकारी अधिकृत पठाउन आग्रह गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै हाजिर गर्ने वातावरण बनाइदिनु १ महिनाअघि पत्र पठाएको थियो । तैपनि मेयर बालेनले गुरागाईंलाई काम गर्न दिएनन् । सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि आक्रोशित हुँदै उनले ‘सबैलाई टुकुचामा गाडिदिने’ चेतावनी दिएका थिए ।
चैत ११ गते बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘काठमाडौा महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको १ हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यो पछि हेरौंला तिमीहरूको के-के तन्त्र हो ।’
तर, बालेनविरुद्ध महानगरपालिकाका कर्मचारीहरु उत्रिए । कर्मचारीहरुले मेयर बालेनका दम्भका कारण आफूहरुले तलब नपाएको गुनासो गरे । अन्तिममा कर्मचारी र उपमेयर डंगोल, वडाअध्यक्ष मिलेर गुरागाईंलाई महानगरमा हाजिर गराउने निर्णय गरियो । सो निर्णय अनुसार आज कर्मचारी र डंगोलले गुरागाईंलाई महानगरमा उपस्थित गराएका छन् ।
मेयर बालेनको निर्देशनअनुसार महानगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृत रोक्न प्रयास गरे पनि नगर प्रहरीहरू सफल भएनन् । यसैबीच मेयर बालेनलाई कोठाभित्र लुकेर निर्देशन नदिन उपमेयर डंगोलले चेतावनी दिएकी छन् । बालेनले भने यस विषयमा सामाजिक सञ्जालमा अहिलेसम्म स्टाटस लेखेका छैनन् । उपमेयरलाई वडाअध्यक्ष र कर्मचारीहरुले साथ दिएपछि बालेनको हार भएको छ । महानगरपालिकामा मेयर बालेन एक्लिएका छन् ।