आइतवार, श्रावण २४ गते २०८३

फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ ।

यस गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त सङ्गीत, र शाहिमा श्रेष्ठको स्वर रहेको छ । गीतको भिडिओमा आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्शाइरहेको छ ।

आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरीएको कथामा बनेको हो । यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरू बिचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको छ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।

छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठको रहेको फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार