काठमाडौँ । पछिल्लो समय नेपाल-भारतको सम्बन्ध चिसिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि भारत रुष्ट बनेको हो ।
ओली प्रधानमन्त्री भएको नौँ महिनासम्म पनि भारतले भ्रमणको निम्तो दिएको छ । भारतले यति लामो समयसम्म पनि नेपालका प्रधानमन्त्रीलाई निम्तो नदिएको इतिहासमा पहिलो पटक हो । यस भन्दा अघि नेपालको सरकार फेरबदल भएर नयाँ प्रधानमन्त्री बन्ने बितिक्कै भारतले भ्रमणको निम्तो दिने गर्दथ्यो । तर, ओलीलाई भने भारतले अहिलेसम्म निम्तो दिएको छैन ।
भारतसँगको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजू राणा देउवाले निकै प्रयास गरेकी थिइन । तर, आरजूको प्रयास असफल भयो । शुक्रबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटपछिको प्रतिक्रियापछि यी दुवैबीचको सम्बन्ध सुधार भएको आँकलन गरिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिनको लागी प्रधानमन्त्री ओली र मोदी थाइल्यान्डको बैङ्कक पुगेका छन् । शुक्रबार बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सकिएको छ । सम्मेलन सकिएपछि मोदीसँग ओलीको भेट गराउनका लागि परराष्ट्रमन्त्री आरजूले पहल गरेकी थिइन् ।
जसअनुसार शुक्रबार मोदी र ओलीबीच भेटवार्ता भयो । भेटबारे दुवै नेताले खुसी साटेका छन्। मोदीले नेपालीमा लेखेर र ओलीले हिन्दीमा लेखेर भेटबारे खुसी साटेका हुन्।
मोदीले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिइएको बताएका छन् । ओलीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा नेपाली भाषामै उनले यस्तो लेखेका छन् ।
‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् । उनले आफूहरूबीच भारत-नेपाल मित्रताका विभिन्न पक्षसँगै ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको पनि उल्लेख गरेका छन् । ‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल र्गयौँ,’ मोदीले लेखेका छन्, ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले पनि हिन्दी भाषामा मोदीसँगको भेट अत्यन्त सार्थक र सकारात्मक रहेको उल्लेख गरेका छन् । ‘मेरो प्रिय मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भइको छ। हाम्रो कुराकानी अत्यन्तै सार्थक र सकारात्मक रह्यो। यो सौहर्दपूर्ण भेटका लागि खुसी व्यक्त गर्दछु।’ ओलीले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएको दुई मिनेटपछि भारतीय प्रधानमन्त्री मोदीले पनि भेटवारे जारकारी गराएका हुन् । प्रधानमन्त्री ओली र मोदीको भेटपछि अब नेपाल भारतको सम्बन्धमा सुधार आएको टिकाटिप्णी हुन थालेका छन् । यदि भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएपछि साच्चै सम्बन्ध सुधार भएकै हो भन्ने बुझ्न सकिन्छ । भारतले भ्रमणको निम्तो नदिएको खण्डमा भने नेपाल भारतको सम्बन्धमा सुधार नआएको प्रष्ट हुनेछ ।