आइतवार, श्रावण २४ गते २०८३

पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे भन्छन्– सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आज ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालमा रहेको विविधतापूर्ण संस्कृति र प्रकृति विश्वभर प्रचार गर्नु आजको आवश्यकता भएको बताएका छन् । मन्त्री पाण्डेले भने, ‘नेपालमा हिमाल, पहाड र तराई मात्र होइन, ६०-७० मिटर उचाइमा रहेको केचनकवलदेखि अग्ला हिमालसम्म, जडीबुटी, वनजंगल, नदी, ताल, झरनाले भरिएको विविधतापूर्ण प्राकृतिक सौन्दर्य छ, । यसलाई वैश्विक स्तरमा प्रचार र ब्राण्डिङ गरेर नेपाललाई प्राकृतिक गन्तव्य तथा संस्कृतिक धरोहरको खुला संग्रहालयका रूपमा स्थापित गर्न सकिन्छ ।’

उनले हिमालदेखि तराईसम्म फैलिएको भूगोल, विभिन्न जातजाति र भाषाभाषिको सांस्कृतिक विविधता, साथै चाडपर्व, भेषभूषा र परिकार लगायतका अभौतिक सम्पदाहरूलाई जोगाउँदै सार्वजनिक चेतना र भूमिकाको खाँचो रहेको बताएका छन् । उनले भने, ‘हामी केवल भौतिक सम्पदा मात्र होइन, अभौतिक सम्पदाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको छ । हाम्रो भाषागत, भेषभूषा, पर्व, परिकार, जीवनशैली सबै आफैंमा अनुपम छन्, जसले पर्यटकलाई लोभ्याउन सक्छ ।’

मन्त्री पाण्डेले नेपालको सम्पदा, संस्कृति, प्रकृति र परम्पराहरूलाई स्थानीय तहमा संरक्षण र विश्वस्तरमा प्रचार गर्न सकिएमा देशले दिगो पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘नेपाल विविधतामा एकता देखाएको राष्ट्र हो, र त्यसलाई पर्यटनको माध्यमबाट विश्वमाझ परिचित गराउने ऐतिहासिक अवसर अहिलेको पुस्ताले उपयोग गर्नुपर्ने समय आएको छ, ।’ 

 

प्रतिक्रिया
सम्बन्धित समाचार