काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यपूर्वी क्षेत्रमा शनिबार आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले शनिबार नै आँधीबेहरी र आकस्मिक बाढीको चेतावनी जारी गरेसँगै, विभिन्न राज्यमा जनधनको ठूलो क्षति भएको छ ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको भीषण आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको, सडकहरू बाढीमय भएको छ भने दर्जनौँ चक्रवात् उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्बिरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरू ढलेको, बिजुलीको तार ढलेको र कारहरू पल्टिएको देख्न सकिन्छ ।
एनडब्ल्यूएसले मध्यपूर्वी क्षेत्रका केही भागमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी’ आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ । आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको छ । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेको राज्यको आपत्कालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केन्टुकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ ।’ एनडब्ल्यूएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जानकारी गराएको छ ।
वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ । गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो ।