आइतवार, श्रावण २४ गते २०८३

रविको ज्यानमाथि खतराको घण्टी : घटनाक्रमले के भन्छ ?

आइतवार , चैत्र २३, २०८१

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कानुनी प्रक्रिया पुरा नगरी पक्राउ गरिएपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

सामाजिक सञ्जालमा अधिकांशले रविको ज्यानमाथि खतराको घण्टी बजेको समेत प्रतिक्रिया दिइरहेका छन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार नै लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा थुनामा पठाउने आदेश दियो ।

लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने रूपन्देही जिल्ला अदालतको आदेश बदर गरि उच्च अदालतको आदेश सार्वजनिक हुँदा शुक्रबार साँझ साढे ७ बजे बजेको थियो । र, उच्च अदालतले थुनामा पठाउने आदेश गरे लगत्तै हतार हतारमा प्रहरी रवि लामिछानेलाई पक्राउ गर्न उनको हात्तीगौंडास्थित निवास पुगिसकेको थियो ।

प्रहरी रविको निवास पुग्दाखेरि रातिको ८ बजिसकेको थियो । र, प्रहरीले पक्राउ पुर्जी बिना अर्थात कानुनी प्रक्रिया पुरा नगरी रविलाई पक्राउ गरेर लग्यो । सबैले कानुनको पालना गर्नुपर्छ यसमा दुबिधा छैन । तर, कानुनी प्रक्रिया पुरा नगरी राज्यले रविलाई बल प्रयोग गरेर पक्राउ गरेपछि भने ठुलो आशंका उब्जिएको छ । नेपालको संविधानले पक्राउ पुर्जी बिना कुनै पनि व्यक्तिलाई पक्राउ गर्न पाइदैन भनेको छ ।

के छ कानुनी प्रक्रिया ?

उच्चको आदेश जिल्ला अदालतमा जान्छ, जिल्लाले कार्यान्वयनका लागि सम्बन्धित निकायलाई लेखी पठाउँछ, लेखी पठाएको आदेश लिएर प्रहरीले व्यक्तिलाई कानूनको नियन्त्रणमा लिन्छ वा व्यक्ति आफैँले सरेण्डर गर्छ । यदि उच्च अदालतको फैसला चित्त नबुझेको खण्डमा सर्वोच्च अदालतमा पनि पुनरावेदन दिने अधिकार हुन्छ ।

अब रविको हकमा भन्नुपर्दा शुक्रबार राती उच्च अदालतले फैसला गरेको छ । उच्च अदालतको उक्त फैसला रातिनै जिल्ला अदालतमा पठाउने सम्भावना नै थिएन । किन भने रुपन्देही जिल्ला अदालत बन्द भइसकेको थियो ।

शनिबार हप्ते बिदा भयो र आइतबार पनि सार्वजनिक बिदा छ । भनेपछि रविबारे उच्चले गरेको फैसला सोमबार मात्र जिल्ला अदालतमा पुग्छ । अनि जिल्ला अदालतले कानुनी प्रक्रिया अगाडि बढाउँछ । अर्थात रविलाई पक्राउ गर्न सम्बन्धित निकायलाई पठाउँछ । फेरि यसमा पनि उच्चको फैसलाविरुद्ध ३० दिनभित्र रवि सर्वोच्च पनि जानसक्छन् ।

तर, कानुनको धज्जी उडाउँदै प्रहरीले रविलाई राती अपहरणको शैलीमा पक्राउ गरेको छ । न पक्राउ पुर्जी छ, न अदालतको आदेश कानुन बमोजिम प्रहरीको हातसम्म आइपुगेको छ । न त्यो आदेश जिल्ला अदालतसम्म सम्म नै पुगेको छ । मध्यरातमा प्रहरी सुतिरहेको विस्तरासम्म पुग्छ । अनि अन्तिम इच्छा के हो ? भन्दै पक्राउ गर्छ । रविको घरमा पुगेका डीएसपी दीपक खड्काले रविको ‘अन्तिम इच्छा’ सोधेका थिए । रविमाथि राज्यले सत्ताको आडमा गरेको अन्यायको अहिले चौतर्फी विरोध भइरहेको छ ।

यसभन्दा अघि पनि हिरासतमा सुतिरहेका रविलाई चितवनबाट मध्यराति १२ बजेर ५ मिनेटमा पोखरा लगिएको थियो । त्यसबेला पनि प्रहरीको चर्को आलोचना भएको थियो । आफूलाई मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दैँ गर्दा आफ्नो ज्यान खतरामा रहेको रेविले जानकारी दिएका छन् । स्वयम रविले भनेका छन्, ‘चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मेरो ज्यानको खतरा थियो मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन ।’

रविको ज्यानमाथि खतराको घण्टी

हिरासतमा सुतिरहेका रविलाई चितवनबाट मध्यराति १२ बजेर ५ मिनेटमा पोखरा लगेको घटना र शुक्रबार राति कानुनी प्रक्रिया पुरा नगरी प्रहरीले रविलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा रविको ज्यानमाथि खतराको घण्टी बजेको लगायतका टिकाटिप्पणी भइरहेका छन् ।

पार्टी स्थापना भएको ६ महिनामा नै रास्वपालाई रविले संसदको चौथो ठुलो दल बनाउन सफल भएका थिए । र, ०८४ मा रास्वपाले पुराना दल कांग्रेस एमालेलाई ठुलै चुनौती दिने आँकलन पनि गरिएको छ । ०८४ मा आफूहरुलाई धक्का लाग्ने भएकाले कांग्रेस एमालेको शिर्ष नेतृत्व मिलेर रविमाथि षडययन्त्र गरिरहेको आरोप पनि लागेको छ ।

रविले यदि सहकारी प्रकरणमा सफाइ पाएपछि उनी जेलबाट चाडै मुक्त हुन्छन् । अब रविलाई कसरी जेल हाल्ने भन्ने मनशायले उनीमाथि सम्पत्ति सुद्धिकरणको मुद्धा लगाइएकोमा कुनै आशंका छैन । यदि सम्पत्ति सुद्धिकरणको मुद्धा कांग्रेस एमालेका शिर्ष नेताहरुलाई हाल्ने हो भने एक नेताले पनि छुटकरा पाउने अवस्था छैन । कांग्रेस एमालेका नेता जोडिएका भ्रष्टाचारका काण्डमा अनुसन्धान नै हुदैँन ।

तर, रविमाथि सिंगो राज्य लागेको छ । जनतासामु लोकप्रीय बनेकाहरुको जिवनमाथि जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने पुष्टि इतिहासले पनि गर्छ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा एमालेका मदन भण्डारीलाई मारियो । २०५८ जेठ १९ गते राजा विरेन्द्र शाहको बंश नास गरियो । हत्याराहरु खुलेआम हिडिरहेका छन् । तर, राज्यले अनुसन्धान नै गर्दैन ।

कानुनी प्रक्रिया पुरा नगरी पक्राउ गर्नुको रहस्य

रास्वपाले चैत २३ गते चितवनमा जनसभा गर्ने तयारी गरेको थियो । जनताको कुरा सुन्ने यात्रा, जनयात्राको सुरुआत गर्ने रास्वपाले जानकारी दिएको थियो ।

चैत १७ गते पार्टी सभापतिमा फर्किदै रविले चितवनका जनतालाई सत्य कुरा बताएर छाड्ने बताएका थिए । ‘मेरो छातीमा गोली हाने पनि म मर्न तयार छु । म माथि राज्यले गरेको अन्याय र कांग्रेस-एमालेका नेताहरुको पोल २३ गते चितवनका जनतालाई बताउने छु ।’, रविले भनेका थिए ।

चैत २२ गते उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश पनि दियो । यदि प्रहरीले २२ गते राती नै रविलाई पक्राउ नगरेको भए २३ गते रवि चितवनमा गएर कांग्रेस एमालेको षडयन्त्रविरुद्ध बोल्ने थिए । आफूहरुको जनमत कायम राख्न कांग्रेस एमालेको शीर्ष नेतृत्वबाट नै रविलाई रातारात पक्राउ गर्ने आदेश आएपछि प्रहरीले पनि कानुनको धज्जी उठाउदैँ पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार