काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा गरेको खबरदारी सभा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार राप्रपाले प्रदर्शन र सभा गरेको हो ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सम्बोधन गरेका थिए । सभा सुरु हुनुअघि कलङ्की र कोटेश्वरदेखि नारा जुलुसहित राप्रपा कार्यकर्ता बल्खुमा पुगेका थिए । राप्रपाले सुरुमा नारायणहिटी दरबार अगाडि सभाका लागि अनुमति मागेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त स्थानमा अनुमति नदिएपछि भृकुटीमण्डपमा विरोध सभा गर्ने तयारी भएको थियो । भृकुटीमण्डपमा पनि प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा विरोध सभा आयोजना गरेको हो । चैत १५ गते राजावादीले हरेको आन्दोलन हिंसात्मक बन्दा मानवीय र भौतिक क्षति भएको थियो ।
प्रहरीको गोली लागेर कीर्तिपुर–४ निवासी सविन महर्जनको मृत्यु हुँदा राजावादीले आगो लगाएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो । प्रहरीले ५८ राउन्ड गोली र ७४६ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । यसैबीच राप्रपाले मंगलबार गरेको प्रदर्शनमा पनि प्रहरी र आन्दोलनकारीबीच भीडन्त हुने आँकलन गरिएको थियो । तर, आन्दोलन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
राप्रपाको विरोध सभा एवं प्रदर्शनलाई मध्यनजर गर्दै करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । सम्भावित दुर्घटना हुन नदिन प्रहरीले विरोध सभा स्थल आसपासका सबै सपिङ मल, सरकारी कार्यालय, ठूला भवन लगायतमा सुरक्षाकर्मी परिचालन समेत गरेको थियो । चैत १५ गते राप्रपाले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । सरकारले भने राजावादीले हिंसा भड्काएको आरोप लगाएको छ ।
घटनाक्रमलाई हेर्दा प्रहरीले पनि आन्दोलनकारी माथि हस्तक्षेप गरेको देखिन्छ।आफूहरुमाथि बल प्रयोग गरेपछि आन्दोलनकारीले उग्ररूप लिएको बताइएको छ । चैत १५ गतेको आन्दोलनमा अन्धाधुन्द प्रहरीले गोली चलाएपछि चौतर्फी विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको समेत राजीनामा दिन माग गरिएको छ ।
चौतर्फी विरोध भएपछि प्रहरी प्रशासन र सरकार झस्किएको छ । मंगलबारको आन्दोलनमा पनि राजावादीमाथि हस्तक्षेप गरेको खण्डमा सरकार थप आलोचना हुने डरले प्रहरीले कुनै बल प्रयोग नगरेको टिकाटिप्पणी भइरहेका छन् ।