काठमाडौँ । गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाले गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह त्रसित बनेका छन् । तीनकुनेको घटनाका मुख्य नाइके पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले सरकारसँग शाहलाई तत्काल पक्राउ गर्न माग गरिरहेका छन् ।
सरकारले पनि मध्यराति सुरक्षा गार्ड फिर्ता बोलाउनुका साथै शाहलाई उच्च निगरानीमा राखेको छ । राजनीतिक दलको घेराबन्दीमा आफू परेपछि पूर्वराजा शाह त्रसित बनेका हुन् । शाहले आफूलाई अप्ठ्यारो पार्ने काम नगर्न राजावादीलाई आग्रह गरिसकेका छन् । स्रोतका अनुसार पहिलो प्रयासको आन्दोलन हिंसात्मक बनेपछि शाह चिन्तित बनेका हुन् ।
नारायणहिटी फर्कने सपनाले देशमा बस्ने अधिकार पनि राजनीतिक दलले खोस्ने शाहको आँकलन छ । फेरि पनि आन्दोलन गरेपछि आफू अपठ्यारोमा पर्ने भएकाले नारायणहिटी फर्कने अभियानबाट पूर्वराजा शाह पछि हटेका हुन् । विवादित छवि भएका मेडिकल व्यवसायी दुर्गा पसाईँका कारण आफू र आफ्नो परिवार खतरामा पर्न सक्ने भन्दै उनले अब आन्दोलन अगाडि नबढाउन निर्देशन समेत दिएका छन् ।
पूर्वराजा शाहले गत फागुन ७ गते ‘आफू अघि बढ्ने, साथ देउ, अब समय आइसकेको’ भन्दै वक्तव्यबाजी गरेसँगै मुलुकमा राजतन्त्रको आवाज उठ्न थालेको थियो । यसैबीच चैत १५ गते राजावादीले तीनकुनेमा शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए । तर, आन्दोलनले उग्ररूप लियो । राजावादीले घरमा आगजनी गरेपछि एक पत्रकारको जलेर मृत्यु भयो भने, अर्का एक जनाको गोली लागेर मृत्यु भयो । आन्दोलनलाई उग्र बनाउन भूमिका खेल्ने मुख्य व्यक्ति दुर्गा पसाईँ भने फरार छन् ।
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेका थिए । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजमा उनले केही समय आराम गरेका थिए । र, त्यसपछि त्यहाँबाट हिँडेका दुर्गा पसाईँ काँकडभिट्टा नाका हुँदै भारत छिरेका छन् । तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंले सञ्चालन गरेको झापाको बीएन्डसी कलेजमा फेला पारेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कारपियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। पसाईासँगै झापासम्म भागेका गाडी धनी मुकुन्द दाहाल थिए भने चालक ईश्वर विक थिए । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तीनकुनेको घटनाले नारायणहिटी फर्कने अभियानबाट ब्याक भएका पूर्वराजा शाहले अहिलेसम्म मुख खोलेका छैनन् ।
राजनीतिक दलका नेताहरूले शाहको योजनामा तीनकुनेमा राजावादीले आतंक मच्चाएको आरोप लगाउदा समेत पूर्वराजा शाहले मौन बस्नुको रहस्य के हो ? भन्ने प्रश्न खडा भएको छ । अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु आन्दोलन गरिरहेका छन् । तर, राप्रपाको आन्दोलन राजा फर्काउन नभइ आफ्ना नेतालाई छुटाउन दबाब दिने उदेश्यमा केन्द्रित छ ।