काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल चलान भएपछि फेरि जीबी राईको खोजी हुन थालेको छ । त्यस्तै सोमबारदेखि २०८२ साल सुरु हुने भएको छ । यससँगै २०८१ मा सरकारले जीबीलाई लुकाएर राखेको र ०८२ सालमा पनि लुकाएर राख्ने लगायतका टिकाटिप्पणी हुन थालेका छन् ।
२०८१ सालमा सहकारी ठगीका मुख्य नाइके गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले पक्राउ गर्न पहल नै गरेन भन्दा फरक नपर्ला ।
सहकारीको २ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा इन्टरपोलमार्फत रेड नोटिस जारी गर्दा पनि अहिलेसम्म जीबीलाई कारवाहीको दायरामा ल्याउन नसकिएको हो ? या ल्याउन नखोजिएको हो ? यी दुई प्रश्न खडा भएका छन् ।
गत असारमा सरकार परिवर्तनसँगै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा गृहमन्त्री रमेश लेखकले भनेका थिए, ‘सहकारी ठगी जोसुकै लाई पनि पक्राउ गर्छौँ । जीबीलाई एक हप्ताभित्र ल्याउँछौँ ।’ तर, ९ महिना भइसक्दा पनि जीबीलाई पक्राउ गर्न सरकार असफल भएको छ । सरकारले जीबीलाई पक्राउ गर्न पहल नै गरेको देखिदैन ।
सहकारी संस्थाहरुको रकम अपचलनका विषयमा अनुसन्धानका लागि प्रहरीले खोजिरहेका १ हजार ५ सय ४० जनामध्ये सबैभन्दा चर्चित र प्रमुख पात्र हुन् गितेन्द्रबाबु राई अर्थात् जीबी राई ।
कास्कीको सूर्यदर्शन, चितवनको सहारा, पर्साको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी र बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा भित्राएर अपचलन गर्ने कार्यमा संलग्न मुख्य पात्र पनि उनै जिबी राई हुन्। सहकारीको रकम अपचलनको त्यही विषयमा अनुसन्धानका लागि कात्तिक २ गते रवि पक्राउ परे । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका थिए । रिहा भएको डेढ महिनापछि रवि कारागार चलान भएका छन् ।
तर, सहकारी ठगका मुख्य पात्र जीवीलाई भने सरकारले किन पक्राउ गर्दैन ? जीवी राईले गोर्खा मिडिया ग्रुपमा मात्रै सहकारीको रकम अपचलन गरेका छैनन्, उनको परिवार र नातागोता समेतले सहकारीको संजाल खडा गरी बचतकर्ताको रकममा रजाइँ गरेको तथ्य सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिकै प्रतिवेदनमा छ ।
जीवी राईले नेचर हब्स, नेचरनेष्ट, जीबी ग्रुप अफ कम्पनीसहित १० कम्पनीमा २ अर्ब ५८ करोड ६ वटा सहकारीकै रकम लगेको प्रतिवेदनले देखाएको छ। तर, यति धेरै चर्चा र खोजी हुँदा पनि जीबी किन पक्राउ परिरहेका छैनन् भन्ने प्रश्नको जवाफ सरकारसँग छैन।
जीवीलाई प्रतिवादी बनाएर मुद्दा चलाए पनि फरार सूचीमा छन् । प्रहरीले निकालेको सूचनामा राई मलेसियामा छन् भनिएको थियो । तर सहकारी ठगी मात्रै प्रहरीले राहदानी रद्दका लागि गरेको आग्रह राहदानी विभागले अस्विकार गरेको थियो । गत असोज र कात्तिकमा रवि लामिछाने र छविलाल जोशी पनि पक्राउ गरेर संगठित अपराधमा अनुसन्धान भएपछि भने जीवी राईको राहदानी प्रहरीको अनुरोधमा रद्द भइसकेको छ ।
त्यसअघि नै उनी विरुद्ध इन्टरपोलमार्फत् रेड नोटिस जारी भइसकेको छ भने खोजीका लागि प्रहरी मलेसियासम्म पुग्यो । तर प्रहरी असफल भयो । अहिले जीवीको राहदानी रद्द भएकाले उनी नेपाली राहदानी बोकेर कुनै देशमा बस्न मिल्दैन । यसकारण उनि राहदानी नचाहिने मुलुकमा छन् या नेपालमै छन् भन्ने आशंका छ । तर, प्रायजसो देशमा राहदानी रद्द भएका व्यक्तिलाई खोजी खोजी पक्राउ गर्न सकिन्छ । त्यसैले जीवी नेपालमै लुकेर बसेको हुनसक्ने टिकाटिप्पणी पनि भइरहेका छन् ।
संसदीय छानविन समीतिको प्रतिवेदनमा जीवी मलेसियाबाट नेपाल फर्किको समेत उल्लेख गरिएको थियो । तर,सरकारले जीवीलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । रवि जीबीकै कारण जेल चलान भएका छन् । जीबी राईसँगको साझेदारी र त्यो साझेदारीमा गोरखा मिडिया प्रालीले लिएको सहकारीको अवैध ऋणको पासोमा रवि परेका हुन् ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवरले सहकारी ठगीमा लामिछानेको कहि कतै संलग्नता नदेखिएको बताएका थिए । २०८० फागुन अर्थात त्यसबेलका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले रविमाथि लागेको आरोप झुटो भएको भन्दै बचाउ गरेका थिए ।
सहकारी ठगीमा संलग्नता नभएको भन्दै प्रचण्ड नेतृत्वको सरकारमा रविलाई गृहमन्त्री बनाइएको थियो । तर, २०८१ असारमा सरकार परिवर्तन भएर कांग्रेस एमाले मिलेपछि भने ओली र कांग्रेसका नेताले रवि सहकारी ठग भएको भन्दै अनुसन्धान गर्न दबाव दिए । र, केही समय अगाडि रविको संलग्नता छैन भन्ने बसन्तबहादुर कुवरले नै रविलाई हत्कडी लगाएका थिए ।
राजनीतिक दलको प्रवृति हेर्दा राजनीतिक स्र्वाथका दोषीलाई निर्दोश र निर्दोशलाई दोषी बनाउने रहेछन् भन्ने पुष्टि हुन्छ । सहकारीमा प्रत्यक्ष संलग्नता नभएका रविलाई जिल्ला जिल्लामा मुद्धा हाल्न लगाउने सरकारले सहकारी ठगका मुख्य नाइके जीवीलाई पक्राउ नगर्नुको पछाडि पनि स्वार्थ लुकेको देखिन्छ ।
जानकारहरुका अनुसार जीवीको कनेक्सन ठुलै नेताहरुसँग भएकाले उनी अहिलेसम्म उम्किन सफल भएका हुन् । तर, अब सहकारी ठगीका नाइके जीबीलाई नयाँ वर्षमा पक्राउ गरेको खबर सुन्न पाउँ लगायतका टिकाटिप्पणी सामाजिक सञ्जालमा भइरहेका छन् ।