आइतवार, श्रावण २४ गते २०८३

पसाईँपछि पूर्वराजा शाहतर्फ सरकारको नजर, यसरी पक्राउ गर्ने योजना बन्दै

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौँ । काठमाडौँको तीन कुने घटनाका मुख्य नाइके भनिएका दुर्गा पसाईँ पक्राउ परेसँगै सरकारले अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ गर्ने योजना बनाइरहेको चर्चा चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पसाईँलाई निर्देशन दिने व्यक्ति ज्ञानेन्द्र भएकाले अब छुटकारा नपाउने बनाउदैं आएका छन् । शाहलाई सोधपुछका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाउने तयारी सरकारको छ । जवाफ चित्त बुझेन भने कानुनी प्रक्रियामा जाने सरकारको तयारी हो ।

जसअनुसार नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताएका छन्। उनले उक्त घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट सुरु भएकाले कतै न कतै उनको भूमिका भएको दाबी गरेका हुन्।

‘१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रुर हिसाबले दर्ज भएको घटना हो। जिउँदै पत्रकार मारिएको अवस्था छ। सरकारी र व्यक्तिगत घरहरू यसरी आगजनी गरेर यति ठूलो क्षति गराइयो, लुटपाट आगजनी जुन ढंगले भयो, व्यक्ति हत्या जसरी गराइयो यसको पछाडि ज्ञानेन्द्रको हात छ उनलाई समितिमा सोधपुछका लागि बोलाउनु पर्छ,’ उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले चैत १५ गते तीनकुने क्षेत्रमा भएको घटनाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउन प्रस्ताव गरेका छन् ।

‘फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र जो नेपाली नागरिक हुनुहुन्छ अहिले। उहाँ पोखराबाट काठमाडौँ आउँदै गर्दा जुन खालको स्वागत, सत्कार र सम्मान गरे जनताले, ती पनि जनता नै हुन्। तर त्यो आवश्यक थियो कि थिएन । चैत १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा विभिन्न विचारहरू आउन थालेका छन्,’ सांसद परियारले भने, ‘सभापतिज्यू, पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौ । यो मानव अधिकार उल्लङ्घनको घटना हो कि होइन, तपाईंले गरेको हो कि होइन? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा?

अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई पनि नहुने उनले बताए। सरकारले पहिला कानुन, न्याय तथा मानव अधिकार समितिमा सोधपुछका लागि बोलाएर पूर्वराजा शाहलाई कानुनी दायरामा ल्याउने कोसिस गरिरहेको छ ।

चैत १५ गतेको तिन कुने आन्दोलनमा सहभागि नभएका कारण पूर्वराजा शाहलाई कानुनी दायरामा ल्याउन सरकारलाई असहज भइरहेको छ । त्यसदिन शाह आन्दोलनमा सहभागि भएको भए यतिबेला सम्म पक्राउ परि सक्थे ।

आन्दोलनमा सहभागि नभए पनि शाहले नै दुर्गालाई उस्काएको शीर्ष राजनीतिक दलका नेताहरुको दावी छ । यदि शाहले आन्दोलन नगर्न निर्देशन नदिएको भए आन्दोलन हिंसात्मक नबन्ने नेताहरुको भनाइ छ । त्यसकारण घटनाका मुख्य नाइके शाह भएकाले तत्काल पक्राउ गर्नुपर्ने मत देखिन्छ ।

तर, कानुनविद् हरुका अनुसार राजनीतिक दलका नेताहरुले भनेजसो पूर्वराजा शाहलाई पक्राउ गर्न सहज भने छैन । कानुनी रुपमा शाह बलिया भएको कानुनीविद्हरुको तर्क छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार