काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज २० औं दिन पनि सडकखण्डमा प्रदर्शन गरेका छन् ।
अघिल्ला दिनहरुजस्तै सोमबार बिहान पनि काठमाडौंको माइतीघर-बानेश्वर सडकखण्डमा भेला भएर शिक्षकहरुले प्रदर्शन गरिरहेका छन् । शिक्षकहरुको प्रदर्शनका कारण आज पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । मूल सडकबाट सवारी साधन डाइभर्सन गर्दा भित्री सडकहरुमा समेत ट्राफिक जाम हुँदा चालक र यात्रुहरु समस्यामा परेका छन् । उनीहरु शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
उनीहरुले चैत २५ गतेदेखि शैक्षिक हड्ताल आह्वान गरेका थिए । हड्तालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ । एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने वैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षामा संशय पैदा भएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको रहेको छ ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ रहेको छ ।