काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सामेल हुन शिक्षकहरुलाई धम्कीसहित दबाब आएको कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको जनाएको हो ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले २१ दिनदेखि काठमाडौंमा आन्दोलन चलिरहेको समयमा सरकारले पेलेर परीक्षा सञ्चालन गर्छु भन्ने दम्भ देखाएको बताएकी छन् । उनले भनिन्, ‘परीक्षा सञ्चालन गर्छु भन्ने र परीक्षा सामेल हुन दबाब दिन थालिएको छ । पेलेर परीक्षा सञ्चालन गरे उत्तरपुस्तिका परीक्षणमा पनि सहभागी नहुने निर्णय लिएका छौँ । बोर्डसँगको छलफलमा एक साता परीक्षा सार्न सकिने कुरा भएको थियो, माग पुरा गर्न छाडेर परीक्षा सञ्चालन गर्ने निर्णय गरियो । शिक्षकको मुद्दालाई वेवास्था गरियो त्यसको मूल्य सरकारले चुकाउनु पर्छ, ।’
बोर्डले कर्मचारी खटाएर पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक महासंघले बैठक बसी सडक आन्दोलनमा साथ दिन आग्रह समेत गरेको छ । विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन साथ र सहभागी हुन भनेको हो ।
संघले कक्षा १२ को परीक्षामा सामेल नहुन र केद्राध्यक्षहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ ।