आइतवार, श्रावण २४ गते २०८३

चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली, पदबाट राजीनामा कहिले ?

मंगलवार , बैशाख ९, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै १० महिना भएको छ । गत असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

एमाले कांग्रेसको अप्राकृतिक गठबन्धनको सहमतिबाट प्रधानमन्त्री बन्दा ओलीले जनतालाई सुशासन दिने आश्वासन दिए । प्रधानमन्त्री बनेको १० महिनासम्म देखिने गरि ओली सरकारले एउटा राम्रो काम पनि गरेको छैन ।

अघिल्लो सरकार अर्थात पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा खुलेका भ्रष्टाचारका फाइल समेत ओली सरकारले बन्द गरेको छ । ललिता निवास जग्गा घोटला, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, सहकारी, मिटरब्याज, बाँसबारी प्रकरण जस्ता ठूला काण्डहरुका फाइल ओली सरकारले बन्द गरिसकेको छ ।

प्रचण्ड सरकारले पूर्वगृहमन्त्रीदेखि उपप्रधानमन्त्रीलाई समेत जेलको हावा खुवाएको थियो । तर, ओली सरकारले भ्रष्टाचारमा मुछिएका आफ्ना नेतालाई उन्मुक्ति दिने काम गरिरहेको छ । यसबारेमा शैली न्युजले ‘सत्ताको आडमा ओलीको रजगज : आफ्ना जोगाएर विपक्षीलाई सिध्याउने खेल’ शीर्षकमा समाचार प्रकाशित गरिसकेको छ ।

सरकारको नेतृत्व गरेको १० महिना हुँदा समेत जनतालाई डेलिभरि दिन नसकेपछि प्रधानमन्त्री ओली अहिले चौतर्फी घेराबन्दीमा छन् । चैत २० गते देखि देशभरका शिक्षक काठमाडौँ आएर आन्दोलनमा छन् । अर्कोतर्फ राजावादीहरूले पनि जनताको निराशाको फाइदा उठाएर व्यवस्थामाथि नै प्रहार गरिरहेका छन् ।

सत्तामा सहभागि कांग्रेसका नेताहरूकै निशानामा ओली परेका छन् । त्यति मात्र नभइ शिक्षकका माग सम्बोधन गर्न अटेर गरेपछि एमालेबाट शिक्षामन्त्री बनेकी विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि ओलीमाथि झन सङ्कट आएको छ । आफू चौतर्फी घेराबन्दीमा परेको ओली स्वयम् आफैले स्वीकार गरेका छन् ।

‘अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन्। विरोधीहरूले सङ्गठित गर्छन्। हाम्रै साथीहरूलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ । त्यो भ्रममा हाम्रै केही साथीहरू सामेल भएको पाइएको छु’, प्रधानमन्त्री ओलीले भने । त्यस्तै उनले विभिन्न प्रकारका वैदेशिक शक्तिहरूले आफू प्रधानमन्त्री बनेको नरुचाएको बताए ।

ओली प्रधानमन्त्री बनेको भारतले मन पराएको छैन । त्यस्तै ओलीले आफूले गति छोड्ने हो भने सबैले हाई हाई गर्ने अभिव्यक्ति पनि दिए। शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएपछि ओलीले पनि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने आवाज उठिरहेको छ । आफ्नो राजीनामाको माग हुन थालेपछी ओलीले आफूले गति छोड्ने हो भने सबैले हाई हाई गर्ने अभिव्यक्ति दिएका हुन् ।

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ? तर, ओलीको गतिविधि हेर्दा कुनै पनि हालतमा पदबाट राजीनामा दिने छैनन् । गत असार १८ गते मध्य राती कांग्रेस एमालेबीच भएको सहमति अनुसार अबको १५ महिनापछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नेछन् । अर्थात राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बनाउन सघाउने छन् । त्यस यता प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिने छैनन् ।

मंगलबार मात्रै ओलीले आफूले १५ महिना पछि राजीनामा दिने बताएका छन् । शिक्षामन्त्री भट्टराईले राजीनामा दिएसँगै रास्वपाकी नेत्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राजीनामा प्रधानमन्त्रीले दिनुपर्ने भए पनि शिक्षामन्त्रीको आएको भन्दै कटाक्ष गरेकी थिइन । ओलीले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जवाफ दिए।

‘पर्ख पर्ख मैले १५ महिनामा राजीनामा दिन्छु। प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् । मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु।’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले राजीनामा दिउन या नदिउन त्यो सरोकारको विषय भएन । तर, ओली नेतृत्वको सरकारले जनतालाई डेलिभरि दिन सकेको छैन । जसले गर्दा निराशा बढ्दो छ । आगामि दिनमा प्रधानमन्त्री ओलीले भाषणमा भन्दा पनि काम गरेर जनताको निराशा चिर्न सकुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार