काठमाडौँ । भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ । भारतको जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको हो ।
मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसमेत २८ जना मारिएका छन् । यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको आशंका गरेको छ ।
कश्मीर आक्रमणपछि भारतले पाकिस्तानसँग भएको सिन्धु जल सन्धि निलम्बन गरेको छ भने अटारी सीमा पनि बन्द गरेको छ । भारतले बुधबार साँझ सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठक राखेर पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा बन्द गर्नेलगायत निर्णय गरेको छ ।
बैठकले सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ । यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ । साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने बताएका छन् । मोदीले पाकिस्तानलाई लक्षित गरेर आतंकवादी मात्र नभइ उनीहरुलाई परिचालित गर्नेहरुले पनि सजाय पाउने दावी गरे ।
हिमाली क्षेत्र कश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उनले आक्रमणमा संलग्नलाई पृथ्वीको कुनाकुना सम्म खोज्ने बताए ।
बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले भने, ‘म सारा विश्वलाई भन्छु स् भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ । म यो स्पष्ट रूपमा भन्छु जसले यो आक्रमण गरेको छ र जसले यसको योजना बनाएको छ, तिनीहरूको कल्पनाभन्दा बाहिर तिनीहरूलाई भुक्तान गरिनेछ’
यसैबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले दिएको चेतावनीलाई ठूलो महत्त्व दिएर हेरिएको छ। उनले आक्रमणका दोषीहरूलाई मात्रै नभई भारतीय भूमिमा उक्त ‘घृणित’ कार्यूका योजनाकारहरूमाथि पनि कारबाही गर्ने उद्घोष गरेका छन्।
भारतको आक्रमणको उचित जवाफ दिन पाकिस्तान तयार
भारतले पाकिस्तानविरुद्ध बोल्ड निर्णय गरेपछि प्रतिकारमा उत्रिन आफूहरु तयार रहेको पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बताए ।
एक पाकिस्तानी टीभीसँग कुरा गर्दै पाकिस्तानका रक्षामन्त्री आसिफले पाकिस्तान कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा रहेको दाबी गरेका हुन् ।
इस्लामाबादमा प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठकले भारतविरुद्ध विभिन्न जवाबी कदमहरूको घोषणा गरेको छ ।
पाकिस्तानले भारतविरुद्ध गरेका जवाफी निर्णय
द्विपक्षीय सम्झौताहरू निलम्बन : पाकिस्तानले भारतसँग भएका सबै द्विपक्षीय सम्झौताहरू, जसमा शिमला सम्झौता पनि समावेश छ, निलम्बन गर्ने निर्णय गरेको छ । यो कदम तबसम्म लागू रहनेछ जबसम्म भारतले पाकिस्तानभित्र आतंकवादलाई प्रोत्साहन दिने, विदेशमा हत्या गर्ने र कश्मीरसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावहरू पालना नगर्ने आफ्नो व्यवहार नरोकेको पाकिस्तानको भनाइ छ ।
हवाई क्षेत्र र सीमा बन्द : पाकिस्तानले भारतको स्वामित्वमा रहेका वा भारतद्वारा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तत्काल बन्द गर्ने घोषणा गरेको छ । साथै, वाघा सीमा पनि तुरुन्त बन्द गरिएको छ । यद्यपि, वैध कागजातसहित भारत पुगेका व्यक्तिहरूलाई ३० अप्रिल २०२५ सम्म यो मार्गबाट फर्कन अनुमति दिइनेछ ।
व्यापार निलम्बन : भारतसँग प्रत्यक्ष वा तेस्रो मुलुकमार्फत हुने सबै प्रकारका व्यापार निलम्बन गरिएको छ ।
कूटनीतिक सम्बन्धमा कटौती : पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगमा कर्मचारीको संख्या ३० अप्रिल २०२५ सम्म ३० जनामा सीमित गर्ने निर्णय गरेको छ । साथै, भारतीय रक्षारसैन्य सल्लाहकारहरूलाई अवाञ्छित व्यक्ति घोषित गरी तुरुन्त देश छोड्न आदेश दिइएको छ । तिनका सहायक कर्मचारीहरूलाई पनि फिर्ता बोलाउन निर्देश दिइएको छ ।
भिसा रद्द : सिख तीर्थयात्रीबाहेक, सार्क भिसा छूट कार्यक्रमअन्तर्गत भारतीय नागरिकहरूलाई दिइएका सबै भिसाहरू निलम्बन गरिएको छ । यस्ता भिसामा पाकिस्तानमा रहेका भारतीय नागरिकहरूलाई ४८ घण्टाभित्र देश छोड्न निर्देश दिइएको छ ।
सिन्धु जल सम्झौताबारे कडा चेतावनी : भारतले सिन्धु जल सम्झौता निलम्बन गरेको निर्णयलाई पाकिस्तानले अस्वीकार गरेको छ । सम्झौताअनुसार पाकिस्तानको हिस्साको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने र त्यसको कडा जवाफ दिइने पाकिस्तानले चेतावनी दिएको छ ।